तोक्मा खबर
सोमबार ११, असार २०८० ताप्लेजुङ फुङलिङ नगरपालिकाले आफ्नो चौधौ नगर सभामा ६७ करोड ५६ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट हिजो १० गते प्रस्तुत गरेको छ । नगर उपप्रमूख भिमादेवी ओझाले आ.व. २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटमा एमविविएस र भेटनेरी डाक्टर अध्ययन छात्रवृत्ति कार्यक्रम समावेश छ । आ.व.२०८०÷८१ मा एमविविएसतर्फ १५ लाख, भेटनेरी डाक्टर छात्रवृत्तितर्फ ३ लाख विनियोजन गरेको छ । एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र÷छात्राका लागि २ लाख रुपैयाँ र डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ अध्यनका लागि समेत छात्रवृत्ति कार्यक्रम ल्याइएको छ । बुहारी शिक्षा कार्यक्रम, स्थानिय भाषा पठनपाठन कार्यक्रम तय गरिएको छ । शैक्षिक कार्यक्रमका लागि १ करोड २ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
सदरमुकाम क्षेत्रमा खुल्ला मैदान निर्माण गर्न नीति तथा कार्यक्रममै उल्लेख गरि ३ करोड ५० लाख बजेटको व्यबस्था गरिएको छ । नगर प्रहरीका लागि १९ लाख ४० हजार विनियोजन गरेको छ यो नयाँ कार्यक्रम हो । २० लाख भन्दा मुनीका काम गुणस्तरीय र दिगो बनाउन प्रयोगशालामा परीक्षण गरेर मात्र भुक्तानी गर्ने प्रावधान राखिएको छ । मासिक रुपमा विद्यालयको अनुगमन गरि प्रतिवेदन सार्वजनिक गर्ने भनिएको छ । विगतको रकम विनियोजन र आगामी वर्षको कार्यक्रम हेर्दा धेरै नयाँ कार्यक्रम नआए पनि यसको कार्यान्वयन पक्षमा सुधार आउन सके राम्रो हुने नगरबासीको भनाइ रहेको पाइन्छ ।
