ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो ।
चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहने, जसमा स्थानीय एउटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत, वेष्ट बङ्गालको एक टोली रहने संयोजक थेबेले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ र उपविजेताले एकलाख ५१ हजार ८१ रुपियाँ नगद पुरस्कार पाउने समितिका कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिए ।
कोषाध्यक्ष मादेनका अनुसार प्रतियोगिता सम्पन्न करिव ५४ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यता प्रतियोगिताकाबिच शान्तिश्री परियार, झुमा लिम्बू लगायतका राष्ट्रिय कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रम पनि आयोजना हुने समितिका सचिव अमर अन्छङ्बोले जानकारी दिएका छन् ।
सचिव अन्छङ्बोका अनुसार प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगिता आयोजकको भूमिकामा कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्बो फुङ्लेङ नामक संस्था रहने छन् ।