जनतामा असन्तुष्टि पनि छन् ।

तोक्मा खबर २४ असार २०८०
पाथीभरा याङ्वरक गाउँपालिका ताप्लेजुङको चालू आर्थिक वर्ष सकिनै लाग्दा शुक्रबार सम्ममा पुँजीगत तर्फको बजेटमा निक्कै कम खर्च भएको हो । पुँजीगत बजेट करिव साढे ५८ प्रतिशत मात्र खर्च भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार शुक्रबार सम्ममा पुँजीगततर्फ कुल ५८.५२ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत बजेटको उक्त प्रतिशत बराबर खर्च हुँदा चालू तर्फको भने ७८.२३ प्रतिशत खर्च भएको निरौलाले जानकारी दिएका छन् । उहाँले अब आइतबार मात्र खर्च गर्ने अर्थात रकम निकासा गर्न पाइने भएकाले शुक्रबार सम्ममा भएको खर्च प्रतिशत केही बढ्न सक्ने बताएका छन् ।
कर्मचारीको तलबभत्ता निकासा गर्न बाँकी रहेकाले चालूतर्फको खर्च बढेर ८३ प्रतिशतसम्म पुग्नसक्ने उहाँले जानकारी दिनुभयो । यस्तै केही सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत तर्फको बजेट खर्च पनि करिव ६५ प्रतिशतसम्म पुग्ने उहाँको भनाइ छ । चालू आवका लागि पाथीभरा याङ्वरक गाउँपालिकाको पुँजीगत बजेट २२ करोड ३५ लाख ३६ हजार र चालूतर्फको बजेट ३० करोड ५८ लाख ५४ हजार रुपियाँ रहेको थियो ।
यता शनिबार आयोजित पाथीभरा याङ्वरक गाउँपालिकाको सार्वजनिक सुनुवाइमा सेवाग्राहीले धेरै गुनासो तथा असन्तुष्टिहरु व्यक्त गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीप्रति सर्वसाधारण सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
निर्वाचनका समयमा भोट माग्ने क्रममा गरेको प्रतिवद्धताअनुसार काम नगरी दिएकोभन्दै जनप्रतिनिधिमाथि सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । दलीय स्वार्थको रुपमा र पक्षपातपूर्ण ढंगबाट जनप्रतिनिधिहरुले काम गरिरहेका पनि सर्वसाधारणले आरोप लगाएका छन् ।
यस्तै गाउँपालिका तथा वडाका कर्मचारीबाट सहज सेवा नपाइएको सेवाग्राहीको गुनासो छ । सेवा लिन जाँदा छिटो, छरितो र सहज सेवा नदिने गरेको सर्वसाधारणले बताएका छन् भने कतिपय योजना फस्र्योटमा कर्मचारीले रकमसमेत माग्ने गरेको उनीहरुको आरोप छ । सार्वजनिक सुनुवाइमा पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत निरौला, वडाध्यक्षहरु, विषयगत क्षेत्रका कर्मचारी लगायतले सेवाग्राहीले उठाएका सवालको जवाफ दिँदै प्रस्ट्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

माथि जानुहोस